काठमाडौं। देशका १२ जिल्लाका ४३ स्थानीय तहलाई विपत् संकटग्रस्त घोषणा गरिएको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो घोषणा गरेको हो।
संकटग्रस्त घोषणा गरिएका स्थानीय तहको नाम केही दिनमै राजपत्रमा प्रकाशित हुने बताइएको छ। संकटग्रस्त घोषणा गरिएका पालिकामा केन्द्रित भई राहत र पुनर्निर्माणका काम गर्ने उद्देश्य राखेको बताइएको छ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ मा गम्भीर प्रकृतिको विपत् भएमा राजपत्रमा सूचना प्रकाशन गरी सिमाना र अवधि तोकी विपत् संकटग्रस्त घोषणा गर्न सकिने उल्लेख छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको शुक्रबार दिउँसो बसेको बैठकले कार्यकारी समितिको २६औँ बैठकले बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो । सोही अनुसार संकटग्रस्त घोषणा गरिएको हो।