काठमाडौं। गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकको पनौती र बेथानचोकको बाढी पहिरोले क्षति पुर्याएको क्षेत्रमा स्थलगत निरीक्षण गरेका छन्। बाढी पहिरो गएको एक सातापछि गृहमन्त्री लेखक आज पनौती नगरपालिका–१२ रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका–४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा पुगेका हुन्।
मन्त्री लेखकले रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर स्थानीय बासिन्दासँग त्यहाँ नागरिकको अवस्थाको बारेमा जानकारी लिएका छन्।
पनौती नगरपालिकाका प्रमुख राममशरण भण्डारीले बाढीपहिरोबाट नगरभित्रमा भएको क्षति, त्यसले नागरिकको आवास, खाद्यान्न र स्वास्थस्थितिमा पुर्याएको समस्याको बारेमा मन्त्री लेखकलाई जानकारी दिए।
बेथानचोक वडा नं ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षणका क्रममा मन्त्री लेखकले गाउँपालिका अध्यक्ष भगवान् अधिकारीबाट पालिकाभित्रमा बाढीपहिरोले पुर्याएको क्षतिको बारेमा जानकारी लिए।