काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको काम आमूल परिवर्तनको शैलीमा हुनुपर्ने बताएका छन्। लगानी बोर्डको ५९ औँ बैठकमा बोर्डका अध्यक्ष समेत रहेका ओलीले विकास निर्माणमा सामान्य सुधार नभई आमूल परिवर्तनकै शैलीबाट काम हुनुपर्ने बताएका हुन्।
उनले काम रोकिने, ढिलाइ हुने, कानुनी र व्यवहारिक जटिलता हुने स्थितिको अन्त्य गरी प्रभावकारीरुपमा काम गर्नुपर्ने कुरामा जोड दिएका हुन्।
प्रधानमन्त्री ओलीले पुराना पुराना कानुन संशोधन र टालटुल गरेर अब नचल्ने भन्दै बोर्डलाई विज्ञ, युवा र ऊर्जावान् जनशक्तिसहित सबलीकरण गर्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने, ‘यताबाट उता फाइल पठाउने र अध्ययन विमर्शकै समय बित्ने अवस्था रहनु हुँदैन । कुनै पनि पक्षको अनुचित दबाब नसही देशको हितमा हुनुपर्ने उचित काम प्रभावकारी हुनुपर्छ । त्यसका लागि हामीले फाइल कहाँ पुग्यो भन्ने ट्रयाकिङ प्रणाली कार्यान्वयन गर्दैछौँ । कुनै पनि फाइल सम्बन्धित कार्यालयमा आएको तीन दिनभित्र हुने नहुने निर्णय दिनुपर्ने पनि निर्णय गरेका छौँ।’