काठमाडौं। दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ। बाढी पहिरोबाट ध्वस्त भएको भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि दक्षिण कोरिया सरकारले नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको हो।
उक्त सहयोगबाट विपद्पछिको पुनर्निर्माण तथा पुनर्स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको नेपालस्थित कोरियाली दूतावासले जनाएको छ।
कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबिचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने समेत बताएको छ।