काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १४ औँ बैठकमा प्रधानमन्त्री ओलीले गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानलाई ठुलो विपद्को घटनाका रुपमा लिँदै राहत वितरण र पुनर्निर्माणका काममा गम्भीरताका साथ लाग्न तीनै तहका सरकारलाई आग्रह गरेका हुन्।
परिषद्का अध्यक्ष समेत रहेका ओलीले कसरी जनतालाई छिटोभन्दा छिटोभन्दा छिटो राहत र आवास उपलब्ध गराउन सकिन्छ भन्नेमा आफूहरुको ध्यान जानुपर्ने बताए।
प्रधानमन्त्री ओलीले उपत्यकालाई जोड्ने सडकहरुका रोकिएका स्थितिमा दशैं अगावै सम्पूर्ण प्रयासहरु गरेर नाका बाटाहरु खुलाइएकामा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षलाई धन्यवाद समेत दिए।