काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुनः निर्माण कार्य प्राथमिकता छुट्टाएर गर्नुपर्ने बताए।
रामेछापको मन्थलीमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री दाहालले यस पटकको बाढी, पहिरोले ठुलो क्षति पुर्याएकाले प्राथमिकता छुट्टाएर पुनः निर्माण गर्नुपर्ने बताएका हुन्।
उनले बाढी पहिरोबाट सबैभन्दा बढी सडक र पुललाई नै क्षति पुगेको जानकारी समेत दिए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत नै साढे ६ अर्बभन्दा बढीको क्षति भएको भन्दै मन्त्री दाहालले पुनः निर्माण गर्न १५ अर्ब ३३ करोड लाग्ने प्रारम्भिक अनुमान रहेको समेत बताए।
मन्त्री दाहालले हामीले चार चरणमा काम गरेको बताउँदै अहिले उद्धारको काम समापन भएको समेत बताए। राहतको काम भइरहेको र पुनः स्थापनाको काममा एउटा अस्थायी र अर्को स्थायी पुनः स्थापनाको काम गरिरहेको बताए।