काठमाडौं। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गरेका छन्। मन्त्री भण्डारीले आज दोधारा चाँदनीस्थित प्रस्तावित दोधारा चाँदनी सुक्खा बन्दरगाह निर्माणस्थलको निरीक्षण गरेका हुन्।
निरीक्षणका क्रममा मन्त्री भण्डारीले सुक्खा बन्दरगाह चाँडै निर्माण हुने आश्वासन दिए। उनले मन्त्रिपरिषद्को बैठकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने मायापुरी सामुदायिक वनको जग्गा सुक्खा बन्दरगाहका लागि प्रयोग गर्न दिने निर्णय गरिसकेकाले अबको केहि महिनाभित्रै निर्माणको काम सुरु हुने बताए।
मन्त्री भण्डारीले सरकारले बझाङसँग जोडिएको ताक्लाकोट नाका र दार्चुलासँग जोडिएको तिङ्कर नाका खोल्ने तयारी गरेको समेत जानकारी गराए। यी नाका खुले सुदूरपश्चिम मात्रै नभइ सिङ्गो देशले आर्थिक फड्को मार्ने उनको भनाइ छ।