काठमाडौं। नेकपा (एमाले) जिल्ला कमिटी ललितपुरले बाढी पहिरोबाट क्षतिग्रस्त ललितपुर जिल्लासँग जोडिएका सडक र विद्युत संरचनाहरु मर्मत र पुनःसञ्चालनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ।
जिल्ला कमिटीले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षणपत्र बुझाउँदै ललितपुर जोडिएका राजमार्ग, ठुला सडक, विद्युत र सञ्चारका संरचना पुनःसञ्चालन तथा मर्मतका लागि ध्यान दिन आग्रह गरेको हो।
विपद्बाट जिल्लामा ४६ को मृत्यु, पाँच बेपत्ता भएका तथा १८ जना उपचाररत रहेको र २१२ भन्दा बढी परिवार विस्थापित हुन पुगेको जानकारी दिँदै कमिटिले ललितपुरको पुनः निर्माणका लागि कम्तीमा रु तीन अर्ब बजेट विनियोजन गर्न माग समेत गरेको छ।