काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्प गएको स्थानमा स्थायी आवास पुनर्निर्माणका लागि १५ दिनभित्र आवश्यक बजेट उपलब्ध गराउने निर्णय भएको बताए।
प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै भूकम्प गएको स्थानमा स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेको बताएका हुन्।
उनले भने, ‘एक वर्षअघि जाजरकोट, पश्चिम रुकुम, बझाङ, बाजुरा र डोटीमा भूकम्पले गहिरो चोट पु¥याएको थियो । ती स्थानहरूको पुनर्निर्माण कार्य त सुरु नै भइसक्नु पर्ने थियो । तर स्रोत व्यवस्थापनको लागि गर्नै पर्ने क्षतिको विस्तृत आकलन (डिडिए) समेत भएको रहेनछ। अस्थायी वासको लागि दिइने २५ हजार राहत मै पुनर्निर्माण कार्य अल्झिएको रहेछ। हामीले यस समस्यालाई समेत संबोधन गर्ने गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकबाट क्षतिको विस्तृत आकलन पूरा गर्दै, ती ठाउँमा स्थायी निजी आवास पुनर्निर्माणको काम अघि बढाउन आवश्यक बजेट १५ दिनभित्र उपलब्ध गराउने निर्णय गरिसकेका छौं । हाम्रो उद्देश्य पीडित जनताको जीवनमा स्थिरता र सुरक्षा फिर्ता ल्याउनु हो ।'