काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देश भित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसबाट लाभ लिने सरकारको घोषित नीति भएको बताएका छन्। आफू नेतृत्वको सरकार गठन भएको सय दिन पुगेको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले राम्ररी सञ्चालनमा नआएका अन्तराष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको दाबी समेत गरे। प्रधानमन्त्री ओलीले भने, ‘भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भयौं।’
आउँदो कात्तिक २४ गतबाट दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने प्रधानमन्त्री ओलीले बताए। फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौं हुँदै भैरहवा र दुबईबीच उडान भर्ने उनले जानकारी समेत दिए।
उनले जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवम् कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको बताए ।