काठमाडौं। विश्व बैङ्कले नेपाललाई १५० मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता प्रदान गर्ने भएको छ। बैङ्कको केन्द्रीय कार्यालयमा आज अर्थ सचिव डा.रामप्रसाद घिमिरे र बैङ्कका नेपाल, मालदिभ्स र श्रीलङ्का हेर्ने कन्ट्री डाइरेक्टर डेभिड सिस्लनले सहायता परिचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
बजेटरी सहायताको रूपमा उपयोग हुने उक्त रकम विपद् पुनर्स्थापना, पुनरुत्थान र पुनर्निर्माणमा उपयोग हुनेछ। सम्झौता हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलको समेत उपस्थिति रहेको थियो।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री पौडेल विश्व बैङ्क र अन्तर्राष्ट्रिय मुद्रा कोषको ५५ औँ वार्षिक बैठकमा सहभागी हुन् अमेरिकामा छन्।