काठमाडौं। भूगर्भविद्को टोलीले काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाको बाढीपहिरो प्रभावित क्षेत्रमा स्थलगत अध्ययन अवलोकन गरेको छ। गत असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण ठुलो क्षति भएपछि बेथानचोकको थप प्रभावित क्षेत्रको अध्ययन गर्न भूगर्भविदको टोली बेथानचोक पुगेको हो।
आगामी दिनमा आउन सक्ने विपदका घटनामा क्षति व्यहोर्न नपरोस् भन्ने हेतुले भूगर्भविद्को टोलीलाई बाढीपहिरोबाट क्षति भएको स्थानको स्थलगत अध्ययन, अवलोकनका लागि लगेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बताए।
पालिकाले काठमाडौं विश्वविद्यालय (केयू) लाई आग्रह गरी बायो इन्जिनियरिङ वा विज्ञताको हिसाबले मद्दत मागेर गाउँपालिकाभित्रका वडा १ देखि ६ सम्मको बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित भएको स्थानहरुको भूगोल, माटो, भौगोलिक स्थिति हेरेर विज्ञ सल्लाह लिनको लागि विश्वविद्यालय र उनीहरुको मार्फतबाट भारतबाट एक जना विज्ञ झिकाएर यहाँको भूगोल अध्ययन गर्न लागेको पालिकाले जनाएको छ।
केयूमार्फत आएको विज्ञ टोलीले गरेको भौगोलिक अध्ययनको प्रतिवेदनपछि त्यसमा दिइएको सल्लाह, सुझावको आधारमा गाउँपालिकाले गम्भीरताका साथ अघि बढेर काम गर्ने समेत जनाएको छ।