काठमाडौं। भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङले दिएको जग्गामा तत्काल काम नथाल्न सर्वोच्च अदालतले नेकपा एमालेलाई अन्तरिम आदेश जारी गरेको छ। अधिवक्ता ज्ञानकुमार बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनीलकुमार पोखरेलको एकल इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो।
भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङले एमालेलाई १० रोपनी १४ आना जग्गा दान दिएका थिए। उक्त जग्गामा पार्टी कार्यालय भवन निर्माणका लागि प्रधानमन्त्री ओलीले शिलान्यास समेत गरिसकेका छन्।
अधिवक्ता ज्ञानबहादुर बस्नेतसहितले गत बुधबार गुरुङले दानमा दिएको दाबी गरिएको जग्गा लिनु र कुनै दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
अधिवक्ता बस्नेत सहितले दर्ता गरेको रिटमा भ्रष्टाचारमा दोषी ठहर भएका गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा लिनु स्वार्थ बाझिने र भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐनविपरीत भएको दाबी उल्लेख गरिएको छ।