फाइल तस्बिर
सल्यान। सल्यानको कपुरकोट बजारमा कोल्डस्टोर निर्माण गरिएको छ। कपुरकोट गाउँपालिका–३ कपुरकोट बजारमा १० मेटिक टन क्षमताको कोल्डस्टोर निर्माण गरिएको हो।
मंगलबार र शुक्रबार गरी सातमा दुई दिन हाटबजार लाग्ने कपुरकोट बजारमै कोल्डस्टोर निर्माण भएपछि स्थानीय किसान र तरकारी व्यापारी खुसी भएका छन्। लामो समयपछि आफूहरुको माग पूरा भएको उनीहरुको भनाइ छ।
नर्वेजीयन राजदूतावासको आर्थिक सहयोगमा वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र पर्वतीय विकासका लागि अन्तर्राष्ट्रिय केन्द्रको साझेदारीमा संचालित नवीकरणीय उर्जा व्यवस्थापन तथा खाद्य सुरक्षा परियोजनाअन्तर्गत कपुरकोट गाउँपालिकाको सहकार्यमा ५० लाख अनुदानमा विद्युत् तथा सोलारबाट चल्ने कोल्डस्टोर निर्माण गरिएको हो ।