काठमाडौं। नेपालमा सञ्चालन गरिने पाँच वटा आयोजना फास्ट ट्रयाकमा गरिने भएको छ। विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने ७२ अर्ब रुपैयाँ बराबरका आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको हो।
पूर्व–पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्वतयारी, तेस्रो चरणको रानीजमरा कुलरिया सिँचाइ र पहुँच तथा उत्थानशीलताको लागि डिजिटल सेवा रूपान्तरण सम्बन्धी आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको अर्थ मन्त्रालयले जनाएको छ।
विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्वतयारी गर्ने र आवश्यकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्ने बताइएको छ।