काठमाडौं। निर्माण व्यवसायीलाई सरकारले भुक्तानी गर्न बाँकी रकममध्ये ६० प्रतिशत भुक्तानी भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भुक्तानी गर्न बाँकी ८ अर्ब ७१ करोडमध्ये ५ अर्ब ५ करोड भुक्तानी गरेको जनाएको हो।
अर्थ मन्त्रालयले साउन १ गते मन्त्रालयको बजेटबाट रकम रकमान्तर गर्ने वा अघिल्लो त्रैमासिकको पनि अगाडि तानेर भुक्तानी गर्न सहमति दिए बमोजिम रकम भुक्तानी भएको बताइएको छ।
अझै ३ अर्ब ६६ करोड रकम निर्माण व्यवसायीहरूलाई भुक्तानी गर्न बाँकी रहेको मन्त्रालयले जनाएको छ। कात्तिक लागेसँगै भुक्तानी गर्न अर्थ मन्त्रालयसँग स्वीकृत माग गरेकाले अब बाँकी रकम समेत चाँडै भुक्तानी हुने बताइएको छ।