काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताएका छन्। मन्त्री दाहालले सोमबार बिहान ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको अवलोकनका क्रममा पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताएका हुन्।
उनले फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न निर्देशन समेत दिए। काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुर्याउने अपेक्षा राखिएको फ्लाइ ओभर निर्माणको काममा ढिलाइ गर्न नहुने उनको भनाइ छ।
मन्त्री दाहाल मन्त्रालयका उच्च अधिकारीहरूसँग फ्लाइ ओभर निरीक्षणमा पुगेका थिए। निरीक्षण टोलिमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरू सहभागी थिए।