काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशले छिटै लगानी सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन्। चीनको सिचुआन प्रदेश सरकारले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले यस्तो जानकारी दिएका हुन्।
उनले सम्मेलनमा सहभागी हुन कुटनैतिक नियोग मार्फत पत्रचार हुने समेत जानकारी गराए।
लुम्बिनीमा हुने लगानी सम्मेलनमा सिचुआन प्रदेश सरकार, निजी क्षेत्रका लगानीकर्ताहरु, कम्पनीहरु, संघसंस्थालाई सहभगी हुन मुख्यमन्त्रीले अनुरोध गर्दै विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वको एक महत्वपूर्ण र नमुना स्थल बनाउन लुम्बिनीमा लगानी भित्राउन आवश्यक रहेको बताए।
उनले लुम्बिनीमा उद्योग, पर्यटन, कृषि, फलफूल, जडीबुटी प्रशोधन र स्वास्थ्य क्षेत्रबाट लाभ लिन सकिने प्रचूर सम्भावना रहेकाले लगानी गर्न आह्वान गरेका हुन्।