सांकेतिक तस्बिर
काठमाडौं। कालीगण्डकी करिडोर अन्तर्गत बलेवा–हर्मीचौर सडकको काम हालसम्म आधा भन्दा बढी सम्पन्न भएको छ। बागलुङको बलेवादेखि हर्मीचौरसम्मको ३० किमि सडकको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको हो।
बलेवादेखि हर्मीचौरसम्मको ३० किमि सडक कालिका कन्स्ट्रक्सनले ३ अर्ब ३३ करोड रुपैयाँमा निर्माण गरिरहेको छ । २०८२ मंसिरमा सक्नुपर्ने यो सडक चालु वर्षमै सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ।
कालीगण्डकी करिडोरको बलेवा–हर्मीचौर सडकखण्डमा ठेउलेखोला, पालुङखोला र लौंवाखोलामा तीन वटा पक्की पुल समेत निर्माण गर्नुपर्ने छ। तीन वटै पुल निर्माणका लागि डीपीआर स्वीकृत भएर ठेक्काको प्रक्रियामा जाने तयारी भएको आयोजनाले जनाएको छ। अहिले सेनाले बनाएको बेलिब्रिजबाट सवारी साधन सञ्चालन भइरहेका छन्।