फाइल तस्बिर
काठमाडौं। गत असोज दोस्रो साताको बाढी पहिरोबाट अवरुद्ध बनेको ठाँडी–भगवानपुर– लाहान–गाइघाट– खार्पा –सोलु राजमार्ग अझै सञ्चालनमा आएको छैन। असोज १० गतेदेखिको वर्षाका कारण आएको बाढी पहिरोबाट अवरुद्ध बनेको पूर्वी पहाडी जिल्लालाई तराईसँग जोड्ने उक्त राजमार्ग अझै सञ्चालनमा आउन नसकेको हो।
सुनकोशीको बाढीले यो राजमार्गको उदयपुर र खोटाङ जोड्ने फोक्सिङटार पुल बगाएको थियो। उक्त पुल निर्माण हुन नसक्दा राजमार्ग सञ्चालनमा आउन नसकेको हो।
उक्त स्थानमा पुल निर्माण गर्न ११ करोड लागत लाग्ने सरकारको प्रारम्भिक अनुमान छ। यस अघिको बाढीले बगाएको पुल विसं २०७९ पुस ७ गते उद्घाटन गरी सवारी साधन सञ्चालन गर्न थालिएको थियो। उद्घाटन भएको डेढ वर्ष नबित्दै पुल बाढीले बगाएको हो।