काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १५ दिनभित्र उद्योगीहरुले डेडिकेटेड र ट्रंकलाइन बक्यौता नतिरे आफूहरु आफ्नै प्रक्रियामा जाने बताएका छन्।
आज प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले प्राधिकरणको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने प्राधिकरण आफ्नो प्रक्रियामा फेरि लाग्ने बताएका हुन्।
‘हामीले गरेको बिल अनुसारको महसुल उद्योगीहरुले १५ दिनभित्र तिरेनन् भने हामी आफ्नो प्रक्रियामा फेरि लाग्नेछौं। सरकारले पनि १५ दिनभित्र बक्यौता असुलउपर गर्न निर्देशन दिइसकेको छ।’ उनले भने, ‘प्राधिकरण आफ्नो ऐन कानुनमा रहेर बक्यौता उठाउन अघि बढ्नेछ, यसअघि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन र विद्युत् नियमन आयोगको निर्देशन अनसुार तीन महिना सुविधा दिएका थियौं।’
घिसिङले डेडिकेटेड र ट्रंकलाइन अब सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको मात्र चासोको विषय नरहेको भन्दै अब सबै सर्वसाधारण सरोकारवालाको चासोको विषय रहेको बताए ।