पर्वत। गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले ८० प्रतिशत बजेट कार्यान्वयन हुने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार गण्डकी प्रदेशको अर्थ मन्त्रालयले पर्वतमा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो निर्देशन दिएका हुन्।
कठिन अवस्थाको बाबजुद आफ्नो कार्यभार समयमै सक्ने गरी काम गर्नुपर्ने दायित्यबोध गर्न आग्रह गर्दै मन्त्री बरालले कसैलाई दोष देखाएर उम्किन नपाउने बताए।
जिल्लामा बास्तविकता बुझ्नका लागि हाल जिल्लागत प्रादेशिक कार्यालयका प्रमुखसँंग छलफलमा जुटेको बताउँदै मन्त्री बरालले गत वर्षको ७३ प्रतिशत बजेट खर्च भएकाले यस वर्ष थप बजेट खर्च गरी नतिजा दिनु चुनौती भएको जनाए। नेपालमा अझै पनि परम्परागत कार्यशैली हुने गरेको मन्त्री बरालले बताए।
अर्थ मन्त्रालयका सचिव बैकुण्ठप्रसाद अर्यालले पाचौं महिनामै रकमान्तर गर्न नहुने बताए। उनले तेस्रो चौमासिकमा मात्र अवस्था हेरी रकमान्तर गर्न सकिने बताए। पर्वत जिल्लाको संक्षिप्त कार्य प्रगति पेस गर्दै सचिव अर्यालले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पर्वतमा सडकतर्फ ८ प्रतिशत, भवनतर्फ ३ प्रतिशतमात्र खर्च भएको जनाए।