काठमाडौं। नेपालले आजदेखि बंगलादेशमा ४० मेगावाटबाट विद्युत निर्यात गर्न सुरु गर्दैछ। भारतको प्रसारण लाइनमार्फत आज दिउँसो नेपालको विद्युत बंगलादेश पुग्ने भएको हो।
आज नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँगै नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीले संयुक्त रूपमा भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम छ।
आजबाट सुरु हुने विद्युत निर्यात आगामी वर्षको जुन महिनाबाट नियमित निर्यात गर्ने नेपाल विद्युत प्राधिकरणको तयारी छ।
यसअघि गत असोज १७ गते बंगलादेशमा ४० मेगावाट बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपिसी विद्युत व्यापार निगमबीच काठमाडौंमा त्रिपक्षीय सम्झौता भएको थियो।