काठमाडौं। चिलिमे हाइड्रोपावरले तीन महिनाको अवधिमा झन्डै २१ करोड खुद नाफा कमाएको छ। हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा २० करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।
उक्त कम्पनीले गत आवको पहिलो त्रैमासमा २० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। कम्पनीको यो त्रैमासको नाफा गत आवको यसै अवधिको तुलनामा सामान्य बढेको हो ।
विद्युत् बिक्री आम्दानीले नाफामा सामान्य योगदान पुगेको देखिन्छ । यस्तो आम्दानी पहिले ३४ करोड २८ लाख रुपैयाँ रहेकोमा अहिले ३६ करोड १८ लाख रुपैयाँ छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १० रुपैयाँ ५१ पैसा छ । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ८९ पैसा छ । बिहीबार बजार बन्द हुँदा यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५९३ रुपैयाँ छ ।