काठमाडौं। काभ्रेको रोशी गाउँपालिकाको गाउँसभाबाट पुनर्निर्माणका बजेट कार्यक्रम संशोधन प्रस्ताव पारित भएको छ। गत असोजको बाढी पहिरोबाट प्रभावित रोशीको विशेष गाउँसभाले पुनर्निर्माण र पुनर्स्थापनाका बजेट कार्यक्रम संशोधन प्रस्ताव पारित गरेको हो।
रोशीले विपद् पुनः निर्माणका लागि बजेट संशोधन गरेर ६५ करोड ७७ लाख ९८ हजार कायम गरेको छ। यसअघि रोशीले चालू आर्थिक वर्ष २०८१–०८२ का लागि ६९ करोड २० लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
गत असोजमा आएको बाढी र पहिरोका कारण राजस्व सङ्कलन सङ्कुचित हुने र धेरै संरचनामा क्षति भएपछि बजेट संशोधन गरेको पालिकाले जनाएको छ। रोशीले संशोधित बजेटमा क्षति भएका योजनाहरूलाई विशेष प्राथमिकतामा राखेको बताइएको छ।