काठमाडौं। तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत पूरा भएको छ। मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको काम हालसम्म ४५ प्रतिशत सम्पन्न भएको हो।
तीन वर्षभित्र सम्पन्न गर्नेगरी उक्त पुल निर्माणका लागि सन् २०२२ अगष्ट ११ मा एक अर्ब २१ करोडमा जेडआइष्ट अन्नक जेभीसँग ठेक्का सम्झौता भएको थियो।
तीन सय १५ मिटर लामो उक्त पुल पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको हुनेछ।
पुल निर्माणका लागि अहिले राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको आयोजनाले जनाएको छ। अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ।