काठमाडौं। निर्वाचन आयोगले मतदानस्थल केन्द्रमा आधारभूत भौतिक संरचना निर्माण गर्न सम्बन्धित पालिकालाई निर्देशन दिएको छ। निर्वाचन आयोगको सोमबार बसेको बैठकले उपनिर्वाचन हुने स्थानीय तहमा कायम भएका मतदानस्थल, केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको हो।
बैठकले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको छ।
मंसिर १६ मा जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका प्रमुख र उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष ८ र ३४ वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । आयोगका अनुसार ती पदका लागि ४१० जना चुनावी मैदानमा छन् । निर्वाचन आयोगका अनुसार रिक्त ८ गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखका लागि ८४ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।