काठमाडौं। उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्रकृतिमैत्री प्रविधिबाट विकास निर्माण कार्य गर्नुपर्ने बताएका छन्। बिहीबार प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयु हस्ताक्षर कार्यक्रममा उपप्रधानमन्त्री सिंहले वातावरणमैत्री र प्रकृतिमैत्री प्रविधिको प्रयोग गरेर विकास निर्माणका काम गर्नुपर्ने बताएका हुन्।
उनले स्थानीय तहहरूले विकास निर्माणका नाममा जथाभावी डोजरलगायतका मेसिन प्रयोग गर्ने कार्य घातक भएको समेत बताए। जथाभावी सडक तथा बाटो निर्माण गर्दा बाढी पहिरोजस्ता प्राकृतिक विपद्हरूको सामना गर्नुपरेको उनको भनाइ छ ।
उनले गत असोजमा आएको बाढी, पहिरोले बाटो र सडक निर्माण गर्नु मात्र विकास र समस्याको समाधान होइन भन्ने पुष्टि गरेको समेत उपप्रधानमन्त्री सिंहले बताए।