काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट लगायतका निर्माण सामाग्रीमा भएको मूल्यवृद्धि खारेज गर्न माग गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि खारेज गर्न आग्रह गरेको हो।
महासंघले मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण कार्य ठप्प पारेर 'निर्माण होलिडे' गर्ने चेतावनी समेत दिएको छ।
विज्ञप्तिमा उल्लेख गरिएको छ, 'निर्माण व्यवसायीहरूको अरवौं भुक्तानी नहुँदा निर्माण उद्योग नै धराशायी भएको स्थितिमा सिमेण्ट लगायतका निर्माण सामग्रीमा भएको मूल्यवृद्धि अविलम्ब खारेज गरी आम उपभोक्तालाई राहत दिन यस महासंघ नेपाल सरकारका सम्बन्धित् निकाय समक्ष जोडदार माग गर्दछ । मूल्यवृद्धि खारेज नभए महासंघ बाध्य भएर देशभरका निर्माण कार्य ठप्प पारी Construction Holiday आह्वान गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत अवगत गराइन्छ ।'
निर्माण कार्य हुने सिजनमा सिमित सिमेण्ट उद्योगीहरूले मूल्यवृद्धिसँगै कार्टेलिङ गरी उत्पादनमा समेत कटौती गरेकाले भुक्तानी अभाव लगायतका कारण अत्यन्त सकसमा रहेको निर्माण उद्योग थप मारमा परेको महासंघको भनाइ छ।