काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले बागमती प्रदेशका सबै पालिकाले खानेपानी र सरसफाइ योजना बनाउनु पर्ने बताएका छन्।
बागमती प्रदेश खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको आयोजनामा हेटौंडामा आयोजित दुईदिने खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी अभिमुखीकरण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन्।
उनले बागमती प्रदेशमा ‘एक घर, एक धारा’ अभियान चलाएको जानकारी दिँदै अब यस अभियानअन्तर्गत प्रदेशमा खानेपानीमा सबैको पहुँच पुग्ने दाबी समेत गरे।
खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर पालिकाहरूले योजना छनोट गर्नुपर्ने समेत मन्त्री लामाको भनाइ छ। बागमतीका ११९ पालिकामध्ये २८ पालिकाले मात्र खानेपानी, सरसफाइ तथा स्वच्छता योजना बनाउनु खुसीको कुरा नभएको भन्दै उनले यो संख्या धेरै नै बढाउनुपर्ने बताए।