काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको जग्गा जग्गा हिनामिना गर्ने जोकोही कारबाहीको दायरामा आउने बताएका छन्। प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याउने र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउने दाबी गरेका हुन्।
त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने उनको भनाइ छ। उनले आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोज्ने दाबी समेत गरेका छन्। प्रधानमन्त्री ओलीले आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गर्ने र हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरे।
उनले लेखेका छन्, ‘एउटा संयोग ( २०७६ सालमा ललिता निवासको जग्गा खोजबिन गर्न मन्त्रिपरिषदबाट शारदाप्रसाद त्रितालको नेतृत्वमा आयोग गठन गरेका थियौं। ललिता निवासको जग्गा अहिले सरकारको नाममा ल्याउने प्रक्रियामा मुद्दा चलिरहेको छ। त्यसपछि त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पति खोजबिन आयोग पनि त्रितालको नेतृत्वमा नै बन्यो। आयोगको अध्ययन प्रतिवेदन हिजो प्राप्त भएको छ। शारदाप्रसाद त्रिताल अस्वस्थ हुनुहुँदो रहेछ। उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु । त्रिविको जग्गा खोजबिन आयोगले प्रतिवेदनमा सिफारिस गरेका तथ्यहरूको थप अध्ययन गर्दै सरकारले यसलाई कार्यान्वयन गर्ने छ। त्रिभुवन विश्वविद्यालयको जग्गा विश्वविद्यालयकै नाममा ल्याइने छ र हिनामिना गर्ने जोकोही भए पनि कानुनी कारबाहीको दायरामा आउनेछन् । आयोगले अध्ययन गर्न नभ्याएका र नसकेका क्षेत्रलाई पनि थप अध्ययन गरेर खोजिने छ। आयोगबाट सिफारिस भएका विषयलाई तत्काल कार्यान्वयन गर्दै खोज्न बाँकी विषयमा थप अध्ययन गरिनेछ । हात हालेपछि यसलाई टुंगोमा पुर्याएरै छाडिने छ ।’
त्रिविको जग्गा खोजबिन आयोगले मंगलबार प्रधानमन्त्री ओलीलाई प्रतिवेदन बुझाएको थियो।
