काठमाडौं। कर्णाली नदीको स्रोत, सीमा र विपद् व्यवस्थापन गर्न कार्यदल गठन गरिएको छ। लुम्विनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजकत्वमा कार्यदल गठन गर्न सुदूरपश्चिम प्रदेश सरकार र लुम्बिनी प्रदेश सरकार सहमत भएका हुन्।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य उपस्थिति दुवै प्रदेशका मन्त्रीहरू, मुख्य सचिव लगायत सरोकारवाला उपस्थित बैठकले यस्तो सहमति गरेको छ।
दुई प्रदेशको सीमा नदी कर्णाली पछिल्लो समय नदी किनारमा उत्खननका कारण पुरै कर्णाली कैलालीतिर बगेकाले कैलालीमा विपद् ल्याउने र बर्दियातिर मुहान नै बन्द भएकाले जनावरलाई पानी खान र खेतीमा सिचाई गर्न कठिन भएकाले समस्या समाधान गर्न दुवै प्रदेश सरकारमा मुख्यमन्त्री सम्मिलित बैठक बसेको हो ।
कर्णाली नदीको बिचमा टापु बनेर पानीले दाँयाबाँया कटान गर्ने, निकुञ्जतिरको भँगालो गेरुवामा पानी नहुँदा जङ्गली जनावर गाउँ पस्ने, खेती सुक्ने गरेको लगायतका समस्या छ ।
यी समस्या समाधान गर्न लुम्बिनी प्रदेशका प्रमुख सचिव महादेव पन्थको संयोजक रहेको कार्यदल गठन गरिएको छ भने कार्यदलका समस्याको अध्ययन गरी ३५ दिनभित्र स्थानीय, प्रदेश र सङ्घ सरकारले के के गर्ने भन्ने प्रतिवेदन बुझाउनुपर्ने छ ।