काठमाडौं। पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा शनिबारदेखि सुरु भएको छ । शनिबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले फिजियोथेरापी सेवाको उद्घाटन गरेका हुन्।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले उपलब्ध गराएको दरबन्दीबाट अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन गरिएको हो। अब नियमित रूपमा सेवा सञ्चालन हुने अस्पतालले जनाएको छ।
फिजियोथेरापी सेवाको शुभारम्भ गर्दै मन्त्री पाठकले नागरिकलाई सर्वसुलभ रूपमा स्वास्थ्य सेवा प्रदान गर्न प्रदेश सरकार निरन्तर सक्रिय भएर लागेको बताए । उनले प्रदेशका ११ वटै जिल्लाका अस्पताललाई सुविधासम्पन्न बनाउने दाबी समेत गरे।
अस्पतालले पहिलो चरणमा १० शय्याको व्यवस्था गरेर फिजियोथेरापी सेवा दिन थालेको छ। स्वास्थ्य बीमा गरेका विमितलाई स्वास्थ्य बीमा कार्डमार्फत नै सेवा उपलव्ध गराइने भएको छ।