काठमाडौं। दार्चुलाको महाकाली नगरपालिका–५ स्थित वीरेन्द्रवन नजिक नेपाल–भारत सीमा नदी महाकाली पार गरेर बिनाअनुमति भारतीय एक्स्काभेटर नेपालतर्फ आएको छ। महाकाली नदी पार गरेर आज बिहान ११ बजेतिर भारतीय एक्स्काभेटर नेपालको दार्चुला सदरमुकाम खलङ्गामा आएको हो।
बिनाअनुमति महाकाली नदी पार गरेर भारतीय एक्स्काभेटर नेपालतर्फ आएपछि स्थानीयले एक्स्काभेटर र चालकलाई नियन्त्रणमा लिएका छन्।
दार्चुलाबासीको व्यापक विरोध हुँदाहुँदै पनि भारतीय पक्षले नदीको धार नेपालतर्फ धकेलिने गरी आफूखुसी तटबन्ध निर्माण गरिरहेको छ । नदीको धार नेपालतर्फ फर्काउने क्रममै भारतीय एक्स्काभेटर नदी पार गरेर नेपालतर्फ आएको स्थानीयको आरोप छ।
नेपालतर्फ तटबन्ध निर्माणको काममा अवरोध गर्दै आएको भारतले पारीपट्टी तटबन्ध बनाउन नेपाली सीमामै पुगेर निर्माण सामाग्री लैजाने र नदीको धार नेपालतर्फ फर्काउने काम गर्दै आएको छ । भारतीय पक्षले नेपाली प्रशासनसँग समन्वय नगरेरै नेपाली भूमिमा समेत स्काइभेटर चलाउन थालेपछि स्थानीय आक्रोशित भएका हुन् ।