काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामाग्रीमा भएको मूल्यवृद्धिको अनुपातमा दाबीका लागि पत्राचार गर्न निर्माण कम्पनीलाई आग्रह गरेको छ। महासंघले आज एक सूचना जारी गर्दै सिमेन्ट र डण्डीमा भएको मूल्यवृद्धिका कारण चालू आयोजनामा मूल्यवृद्धि भएको अनुपातमा दाबीका लागि सम्बन्धित आयोजनामा पत्राचार गर्न कम्पनीहरुलाई आग्रह गरेको हो।
महासंघले सिमेण्ट तथा डण्डी उत्पादकहरूले विना कुनै ठोस कारण कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गर्दै सिमेण्टमा प्रति बोरा रु २०० भन्दा बढी र डण्डीमा प्रति केजी रु १५ मूल्यवृद्धि भएको भन्दै आपत्ति समेत जनाएको छ। मूल्यवृद्धिका कारण चालु आयोजनामा असर परेका भन्दै निर्माण कम्पनीलाई मूल्यवृद्धि भए अनुपातको दाबी गर्न पत्राचारका लागि अनुरोध गरेको हो। त्यसैगरी महासंघले मृत्यवृद्धि निरन्तर भइरहेमा सम्पूर्ण निर्माण कार्य रोक्ने भन्दै सम्बन्धित आयोजनामा पत्राचार गर्नका लागि समेत निर्माण कम्पनीहरुलाई अनुरोध गरेको छ।
महासंघले सूचनामा उल्लेख गरेको छ, ‘उपरोक्त विषयमा सिमेण्ट तथा डण्डी उत्पादकहरूले विना कुनै ठोस कारण कार्टेलिङ गरी विगत एक महिनाको अवधिमा नै पटक पटक गर्दै सिमेण्टमा प्रति बोरा रु २०० भन्दा बढी र डण्डीमा प्रति केजी रु १५ मूल्यवृद्धि गरिएको र उक्त मूल्यवृद्धिको क्रम अझै जारी रहेकाले आआफ्ना चालू आयोजनाहरूमा मूल्यवृद्धि भएको अनुपातमा दाबीका लागि आफ्नो निर्माण कम्पनीको तर्फबाट यथाशिघ्र पत्राचार गर्नुहुनका साथै विना कारण भएको मूल्यवृद्धिले यसरी नै निरन्तरता पाइरहेमा सम्पूर्ण निर्माण कार्य रोक्न वाध्य हुने व्यहोरा समेतको पत्राचार सम्बन्धित् आयोजनाहरूमा गर्नहुन पनि यसै पत्र मार्फत जानकारी गराउँदछौं ।
