काठमाडौं। भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमति प्रदेश सरकारले १० करोड रकम विनियोजन गरेको छ। बागमति प्रदेश सरकारको बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि चालु आर्थिक वर्षको बजेटबाट तत्काल १० करोड रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो।
युवा तथा खेलकुद मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेस गरेको प्रस्तावअनुसार चालु आर्थिक वर्षको बजेट शीर्षकबाट तेस्रो किस्तास्वरूप उक्त रकम उपलब्ध गराउन लागिएको बताइएको छ।
सरकारले यसअघि दोस्रो किस्ताको रूपमा असार २४ गते १ करोड ८० लाख रुपैयाँ भरतपुर महानगरलाई रंगशालाको लागि निकासा गरेको थियो । प्रदेश सरकारले गत आर्थिक वर्षमा पहिलो किस्तास्वरूप ५ करोड रुपैयाँ भरतपुर महानगरपालिकालाई उपलब्ध गराइसकेको छ।