काठमाडौं। बागमती प्रदेशका नीति तथा योजना आयोगका उपाध्यक्ष गंगादत्त नेपालले विकास आयोजना पुनर्निर्माण गर्न तीनै तहको सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेको बताएका छन्। उनले विपदबाट प्रभावित क्षेत्रमा विकास आयोजना पुनर्निर्माण गर्न र संरचनाको संरक्षण गर्न स्थानीय तह, प्रदेश, संघ सरकार र निजी क्षेत्रलगायत संघसंस्थाको समन्वयमा योजना निर्माण गर्न आवश्यक रहेको बताएका हुन्।
शनिबार काभ्रेको पनौती नगरपालिकाको आयोजना र काभ्रे सेवा समाजको संयोजनमा सञ्चालित ‘रोशी खोला जलाधार संरक्षण तथा विपद् न्युनिकरणका उपाय’ विषयक अन्तर्क्रियामा उपाध्यक्ष नेपालले प्रदेश नीति तथा योजना आयोगले विपद्पश्चात् प्रभावित क्षेत्रको अध्ययन गरी पोष्ट डिज्यास्टर निड ऐसेसमेन्ट तयार गरेको जानकारी दिए। उनले पुनर्निर्माणको कामलाई अगाडि बढाउन अध्ययन भइरहेको र जसको मस्यौदा गरिसकेको र त्यसमाथि प्राप्त सुझावलाई समेटेर अध्ययन गरी पूर्णता दिने कामलाई अगाडि बढाइएको समेत बताए ।