काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले एक वर्षको अवधिमा १४ अर्ब ७१ करोड आम्दानी गरेको छ। प्राधिकरणले २६ औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित कार्यक्रममा गत आ.व. २०८०र८१ मा १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको जानकारी दिएको हो।
प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गत वर्षको आम्दानीमा एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख र नन एरोनटिकलतर्फ तीन अर्ब १९ करोड ४९ लाख रहेको जानकारी दिए ।
गत वर्ष पुँजीगततर्फ नेपाल सरकारको सहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको महानिर्देशक अधिकारीले बताए। उनका अनुसार कार्य सञ्चालन खर्चतर्फ चार अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च चार अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च एक अर्ब ३३ करोड एक लाख र आयकर खर्च एक अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपियाँ खर्च भएको छ ।प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको छ।
महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिई क्षमता विस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसौनी क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको समेत जानकारी दिए।