काठमाडौं। नेकपा (एस) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले बीआरआई नेपालको हितमा रहेको बताएका छन्। बुधवार नेपालमा बीआरआईको कार्यान्वयनका सम्भावना विषयमा फाउन्डेसन फर पिस डेभलपमेन्ट एन्ड सोशलिज्मले आयोजना गरेको कार्यक्रममा नेता खनालले देशको हितलाई मध्यनजर गर्दै बीआरआई कार्यान्वयन सम्बन्धी सम्झौता भएको बताएका हुन्।
उनले बीआरआई नेपालको हितमा रहेको तर जबरजस्ती विवादमा ल्याउने काम भएको आरोप लगाएका छन्। बीआरआई ऋणमा लिने कि अनुदानमा लिने भन्नु नै थोत्रो अवधारणा भएको बताउँदै उनले नेपालको आवश्यकता के छ त्यसको आधारमा बीआरआईको परियोजना सञ्चालन गर्ने धारणा राखे ।
बीआरआई कार्यान्वयनमा सम्झौता भएपछि भारतीय मिडियालाई अध्ययन गर्दा त्यसबाट भारत निकै आत्तिएको देखिएको भन्दै खनालले त्यसरी आत्तिनुको कुनै कारण नरहेको बताए।
चीनको लगानीमा बनेको भैरहवा र पोखरा एयरपोर्टमा जहाज उड्न नदिनु ब्लकेड रहेको दाबी गर्दै उनले नेपालमा भारतले चार पटक नाकाबन्दी गरिसकेको स्मरण समेत गराए।