काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ। महासंघले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आन्दोलन गर्ने चेतावनी दिएको हो ।
पुस २७ गते राजधानीमा देशभरका निर्माण व्यवसायी भेला हुने र सोही भेलाको म्यान्डेट अनुसार आन्दोलनमा जाने महासंघले जनाएको छ।
महासंघका महासचिव रोशन दाहालले भने ‘सरकारसँग पटक–पटक हारगुहार गर्दा पनि निर्माण व्यवसायीले ठुलो रकम भुक्तानी पाउन सकेनौँ । दुई वर्ष अघि देखिको भुक्तानी पाउन सकेका छैनौँ। हामी फेरि आन्दोलन गर्न बाध्य भएका छौं।’
पटकपटक भुक्तानीका लागि ताकेता गर्दा पनि भुक्तानी पाउन नसकेको र अब आन्दोलनबाहेक विकल्प नभएको दाहालको भनाइ छ ।
उनले साथै यही अवधिमा निर्माण सामाग्रीको मूल्य वृद्धि हुनुका साथै निर्माण सामग्री उत्पादनसमेत कार्टेलिङ गरी उद्योगीले अभाव सिर्जना गरेकाले निर्माण व्यवसायी थप मारमा परेको समेत बताए । यसै गरी सरकारले समयमा भुक्तानी नदिँदा बैंकको किस्ता तिर्न नसकिने र कालोसूचीमा पर्ने अवस्था आएको उनको भनाइ छ ।