काठमाडौं। बाँकेको सिक्टा सिँचाइ आयोजनाको काम हालसम्म ४१.७९ प्रतिशत सम्पन्न भएको छ। आयोजना निर्माण सुरु भएको १९ वर्षमा आयोजनाको भौतिक प्रगति ४१.७९ प्रतिशत र वित्तिय प्रगति ४०.७६ प्रतिशत सम्पन्न भएको हो।
आर्थिक वर्ष २०६१–६२ मा स्थापना भई आव २०६२–६३ बाट भौतिक निर्माणको काम सुरू भएको थियो। २०७१ भदौ ८ गते रू २५ अर्ब दुई करोड र २०७९ भदौ २६ गते अन्तिमपटक आव २०८९–९० सम्म काम सम्पन्न हुनेगरी लागत संशोधन गरेर रू ५२ अर्ब ८९ करोड पुर्याइएको छ । विसं २०६४ मङ्सिर ३ गते पहिलोपटक लागत संशोधन गरेर रू १२ अर्ब ८० करोड पुर्याइएको थियो ।
आयोजना सुरू भएदेखि चालु आवको मङ्सिरसम्ममा रू २१ अर्ब ५५ करोड खर्च भएको छ। पश्चिमी मूल नहरबाट ३३ हजार सात सय ६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा पानी सिँचाइ गर्ने लक्ष्य लिइएको छ । पूर्वी मूल नहरको ५३.५० किलोमिटरमध्ये ३७.६८ किलोमिटर निर्माण सम्पन्न भएको छ ।