काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन स्पष्टीकरण सोधिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई पदबाट किन नहटाउने भन्दै स्पष्टीकरण सोधेको हो।
घिसिङसँग मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताअनुसार भदौ महिनाभित्र मन्त्रालयको समितिमार्फत कार्यसम्पादन मूल्याङ्कन गराइसक्नुपर्नेमा त्यसका लागि आवश्यक विवरण नबुझाएको भन्दै मन्त्रालयले सोमबार स्पष्टीकरण सोधेको स्रोतले जनाएको छ।
कार्यसम्पादन मूल्यांकनमा ५० प्रतिशतभन्दा कम अंक ल्याएको अवस्थामा कार्यकारी निर्देशकलाई पदबाट हटाउन सक्ने व्यवस्था सम्झौतामा छ ।
घिसिङलाई सोधिएको स्पष्टीकरणमा मन्त्रीपरिषद्का निर्णय अवज्ञा गरेको, डेडिकेटेड फिडरको विवादमा मन्त्रालयले गठन गरेको प्राविधिक समितिलाई असहयोग गरेको तथा सञ्चालक समितिको माइन्युटमा नोट अफ डिसेन्ट लेखेको लगायत विषय उल्लेख भएको बुझिएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको प्राधिकरण स्रोतले जनाएको छ।