काठमाडौं। म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–१ तुसारेपानीमा खेलमैदान र सामुदायिक भवन निर्माण सम्पन्न भएको छ। मङ्गला गाउँपालिका र प्रदेश सरकारबाट ३५ लाख ५० हजार अनुदान, २१ हजार ८ सय चन्दा र १० लाख १७ हजार मनकामना युवा क्लबको लगानीमा खेल मैदान निर्माण गरिएको हो।
त्यसैगरी आमा समुहको १३ लाख ३२ हजार चार सय ६२ लागतमा सामुदायिक भवन निर्माण गरिएको हो। उक्त खेल मैदानमा बास्केटबल र भलिबल खेल सञ्चालन गर्न सकिने गरी प्यारापिट र स्टेज रहेको छ । व्यवस्थित खेलमैदान भएपछि खेलअभ्यास र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ । आमा समूहको भवनलाई भेला, बैठक, भोज, भतेर, तालिम, गोष्ठी सञ्चालनका लागि पनि प्रयोग गर्न सकिने बताइएको छ ।
खेलमैदान, भवन र प्रथम तुसारेपानी कप तथा माघे सङ्क्रान्ति मेलाको मङ्गलबार एक समारोहका बीच उद्घाटन गरिएको छ । पूर्वसांसद नरबहादुर पुन, जग्गादाता बुद्धिराम पुन र निर्माण समितिका अध्यक्षसमेत रहेका प्रवेशद्वार निर्माता खड्कबहादुर रोकाले शिला अनावरण गरेर आमा समूहको भवन उद्घाटन गरेका हुन्।