काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई गुणस्तरीय मापदण्ड पूरा नभएका कुनै पनि कार्य स्वीकार्य नहुने बताएका छन्। नेपाल निर्माण उद्योग परिषदका अध्यक्ष बलिभद्र रानासहितको टोलीसँगको भेटमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
उनले सबैभन्दा कम रकममा ठेक्का दिने प्रक्रियाले कतिपय ठाउँमा गुणस्तरीय निर्माण कार्य हुन नसकेको भन्दै गुणस्तरमा सम्झौता नगर्न निर्माण व्यवसायीलाई आग्रह गरे। प्रधानमन्त्री ओलीले निर्माण क्षेत्र सम्बद्ध व्यवसायीको केही रकम भुक्तानी गरिसकिएको र बाँकी रकम भुक्तानी प्रक्रियालाई सहज बनाउने गरी काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत बताए।
परिषद्का अध्यक्ष रानासहित पदाधिकारीले सार्वजनिक खरिद नियमावलीमा संशोधन, छड, सिमेन्टलगायत निर्माण सामग्रीमा भएको मूल्यवृद्धिलाई ध्यान दिएर ठेक्काहरूमा मूल्य समायोजनलगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।