काठमाडौं। पाल्पा जिल्लाको तानसेन नगरपालिकामा निर्माणाधीन चिस्यान केन्द्रको काम आगामी असार मसान्तसम्म सकिने गरी काम भइरहेको छ। आगामी असार मसान्तभित्र काम सक्ने गरी काम भइरहेको चिस्यान केन्द्रको काम ८० प्रतिशत सम्पन्न भएको हो।
चिस्यान केन्द्र निर्माणका लागि २०७१ जेठ मसान्तमा काम सक्ने गरी विसं २०६९ फागुन २३ गते हिम्दुङ एन्ड ठोकररजय रक्तकाली जेभीसँग चार करोड ९९ लाख ९१ हजारमा ठेक्का सम्झौता भएको थियो। निर्माण कम्पनीले ठेक्का सम्झौता भएको ११ वर्षसम्म काम अलपत्र पारेर १२औं वर्षमा काम सक्ने भएको छ।
मुख्य निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनीपछि गत वर्षदेखि चिस्यान केन्द्र निर्माणको काम द्रुत गतिमा अगाडि बढेको तानसेन नगरपालिकाले जनाएको छ । हालसम्म चिस्यान केन्द्रको मुख्य भवनको काम सम्पन्न हुने चरणमा छ । यस्तै घेराबार, सुरक्षाका लागि बस्ने घर निर्माणको काम पनि भइरहेको छ ।