काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले भोलि (शनिबार) राष्ट्रिय भेलाको आयोजना गरेको छ। लामो समयदेखि सरकारले भुक्तानी नदिएको भन्दै असन्तुष्ट रहेका निर्माण व्यवसायीले फेरि आन्दोलनका कार्यक्रम तय गर्नका लागि शनिबार बिहान राष्ट्रिय भेलाको आयोजना गरेको हो।
महासंघका महासचिव रोशन दाहालले निर्माण व्यवसायीहरूले निर्माण कार्य सम्पन्न गरे बापत लामो समयदेखि आयोजनाहरूको भुक्तानी नपाएको, सिमेन्ट सहितका निर्माण सामग्रीमा कार्टेलिङ तथा कालोबजारी गरी भइरहेको अत्यधिक मूल्यवृद्धि, सार्वजनिक खरिद नियमावलीको १३औं संशोधनमा देखिएको म्याद थपको समस्या, राष्ट्र बैंकबाट निर्माण उद्योगले पाएको सहुलियत खारेजी लगायतका विषयमा विरोध स्वरूप सम्बन्धित सरकारी निकायहरूमा दबाब मूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरी निष्कर्षमा पुग्नका लागि राष्ट्रिय भेलाको आयोजना गरेको जानकारी दिए।
पटक पटक सम्बन्धित निकायमा गरेको आग्रह अनुरोधका बाबजुत पनि निर्माण क्षेत्रको समस्या ज्यूको त्यू रहेका कारण आन्दोलनमा जान निर्माण व्यवसायी बाध्य भएको समेत महासंघको भनाइ छ। राष्ट्रिय भेलाबाट निष्कर्षमा पुगेर विभिन्न आन्दोलनका कार्यक्रमहरु तय गर्ने चेतावनी समेत महासंघले दिँदै आएको छ।