काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको काम चाँडै अघि बढ्ने बताएका छन् । प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन्।
उनले सुक्खा बन्दरगाह निर्माण हुने क्षेत्रमा पर्ने रुख कटानको आदेश भइसकेको भन्दै रुख काटेपछि भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमति भइसकेको समेत जानकारी दिए।
उनले भने, ‘नेपाल र भारतका वाणिज्य सचिवस्तरीय संयन्त्र(आईजीसीको बैठकमा नेपालले रुख कटानको काम सम्पन्न गरेपछि लगत्तै भारतीय पक्षले ठेक्का आह्वान गर्ने सहमती भएको छ। हामीले रुख कटानको आदेश पाइसकेकाले चाँडै काम सुरु हुन्छ । त्यसपछि भारतले ठेक्का लगाएर सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउँछ ।’
आईजीसी बैठकमा नेपाल र भारतबीच बैतडीको झुलाघाट, डडेल्धुराको शीर्षमा मोटेरेबल पुल निर्माण गर्ने सहमति गरिसकेकाले चाँडै निर्माण गर्नेगरी सम्झौता भएको उनले बताए ।