काठमाडौं। काभ्रेपलाञ्चोकको दोलालघाट बजार र पुल जोगाउन तटबन्ध निर्माण गरिने भएको छ। दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको हो।
दोलालघाट क्षेत्रमा तटबन्ध निर्माणका लागि प्राविधिक नाप, जाँच गरी लागत अनुमान गर्न निर्देशन दिएपछि सबै प्रक्रिया पूरा गरी प्रस्ताव गरिएको छ। गत वर्षनै दोलालघाट बजार र पुल जोगाउने उद्देश्यले तटबन्ध निर्माणका लागि लागत अनुमानसमेत पठाउन भनिएअनुसार प्रस्ताव गरिएको जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ। लागत अनुमानबारे भने मन्त्रालयसँगको सुझावका आधारमा तय हुने बताइएको छ।
वर्षैपिछे बाढीका कारण इन्द्रावती खोलाको सतहसमेत बढेपछि दोलालघाट बजार र अरनिको राजमार्गअन्तर्गत रहेको दोलालघाट पुल जोखिममा देखिएको छ । वर्षौंपिच्छे दुई नदीको सतह बढ्दा त्रासमा रहनुपर्ने जनाउँदै दोलालघाटका स्थानीयले बजार, बस्ती र पुल जोगाउन माग गर्दै आएका छन्।