काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कामाथि मन्त्रालयमा नै हातपात भएको छ । शुक्रबार मन्त्रीमाथि हातपात भएको हो ।शुक्रबार पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुसँगको छलफलका क्रममा खड्काले घटनाबारे जानकारी गराएका हुन् ।
छलफलका क्रममा मन्त्री खड्काले सुरक्षाको विषय उठाएर आफूमाथि मन्त्रालयमै दुर्व्यवहार भएको बताएका बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । कांग्रेस बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकले घटनाबारे आफूलाई कसैले जानकारी नगराएको जनाएका थिए ।
मन्त्री खड्का कार्यकक्षबाट निस्कँदै गर्दा गोरखाका हरि पोखरेलले हातपात गरेको खुलेको छ । मन्त्रीलाई पत्रकार भन्दै उनी भेट्न पुगेका थिए ।
मन्त्रीले भेट्न नमाने पनि धेरै पटकको अनुरोधपछि उनलाई भेट्न दिइएको थियो । ऊर्जामन्त्री खड्काले आफूसँग भेट्न आएका पोखरेललाई नचिनेको बताएका थिए । त्यसपछि पोखरेलले ‘मलाई नचिन्नी’ भन्दै मन्त्रीमाथि हातपात गरेका थिए ।