काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले धौवादी फलाम उद्योग सञ्चालनको काम तीव्र गतिमा अगाडी बढाउन निर्देशन दिएका छन्। पूर्वी नवलपरासीको हुप्सेकोटस्थित उक्त खानी उद्योग सञ्चालनका विषयमा सरकारी तथा निजी क्षेत्रका सरोकारवालासँग गरिएको अन्तर्क्रियामा मन्त्री भण्डारीले यस्तो निर्देशन दिएका हुन्।
उनले फलाम उद्योग सञ्चालनको विषय तेस्रो लगानी सम्मेलनका बखत प्राथमिकताका साथ उठेकोमा अहिले यसबारे भइरहेका छलफलले उपयुक्त निर्णय गर्दै फलाम उद्योग सञ्चालन गर्नुपर्नेमा जोड दिए।
धौवादी फलाम खानीको उत्खनन, प्रशोधन तथा प्रयोग वर्तमान सरकारको उच्च चासो र प्राथमिकताको विषय भएको भन्दै मन्त्री भण्डारीले कम्पनी सञ्चालनको काम सरकारी र निजी क्षेत्रको सहकार्यमा द्रुत गतिमा निर्माण गर्नुपर्ने बताए।
अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले उक्त खानी उद्योग सञ्चालन हुँदा व्यापार घाटा घट्नुका साथै अन्तर्राष्ट्रिय बजारमा फलाम निर्यात गरी आर्थिक विकास गर्न सकिने बताए ।
करिब ५२ अर्ब बढी लागतमा निर्माण हुने उक्त फलाम कम्पनी सञ्चालन गर्न ५५ प्रतिशत सरकारी र ४५ प्रतिशत निजी क्षेत्रको लगानीका विषयमा टुङ्गो लाग्न बाँकी रहेको उनले जानकारी दिए।